काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६६२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजक समिति सचिवालयले आइतबार साँझ विज्ञप्ति जारी गरी २६ सय ६२ जना प्रतिनिधिको नाम दर्ता भएको जनाएको छ ।
आयोजक समितिका अनुसार कोसी प्रदेशबाट ४२५ जना, मधेबाट ४४६, बागमती ४३२, गण्डकी २९६, लुम्बिनी ३९८, कर्णाली १३४, सुदूर पश्चिम १५८, उपत्यका १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ गरी जम्मा २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका हुन् ।
यसैबीच विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन् । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।
बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताइन् । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।

प्रतिक्रिया