काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाको हातबाट उद्घाटन गर्न चाहेको बताएका छन् ।
आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूले पार्टी सभापतिले उद्घाटन गर्न चाहे पनि त्यो पूरा हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘विशेष महाधिवेशन उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं । तर त्यो चाहना पूरा भएन । हामीले नेताहरूको तस्बिरमा माल्यार्पण गरेर दियो बालेर र गमलामा पानी हाले उद्घाटन गर्यौं । हामीलाई खुसी लागेको छैन ।’
उनले पार्टीभित्र कुनै झगडा नभई विचारको लडाइँ भइरहेको बताए ।उनले भने, ‘पार्टीभित्रको सत्ता र संघर्षको कारणले यहाँ कोही उपस्थित भएको र नभएको भन्ने लागेको होला । यो संघर्ष हो तर सत्ताको होइन । यो संघर्ष हो मूल्य मान्यता र विचारको ।” उनले राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको बताए ।
उनले भने, ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपोबेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्। र, आम नागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो । उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।’
उनले पछिल्लो समय आफूले देखेका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र चासो आफूले कहिल्यै नदेखेको बताए । उनले जेनजी आन्दोलनपछि तिमीहरु पार्टीमा छलफल गर भनेर नेताहरुले भन्दा अटेर गरेपछि विशेष महाधिवेशन बाध्यात्मक बनेको बताए ।

प्रतिक्रिया