‘महामन्त्रीद्वयलाई मेरो आग्रह छ, अगाडि बढ्नुस्, यात्रालाई अधुरो नछोड्नुस्’


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा चौधरीले कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहेको बताए ।

उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको हेर्न चाहन्छु । कांग्रेसले जेनजीका भावनाको प्रतिनिधि गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहन्छ । राजनीतिलाई पेसा होइन्, समाज रुपान्तरण गर्ने महत्वपूर्ण प्लेटफर्म हो भनेर उभिन चाहनेलाई खुला रुपमा उभ्याउन चाहन्छ ।’

त्यस्तै उनले ३५ वर्षको दौरानमा कांग्रेसले बाटो बिराएको स्वीकार गरे । सृजनशील, योग्य र क्षमता भएका व्यक्तिहरुलाई ढोका खोलेर भित्र्याउने राजनीति प्रणाली कांग्रेसले सृजना गर्न नसकेको उनको भनाई छ ।

‘हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौं । हामीले एउटा यस्तो राजनीतिक प्रणालीको सृजना गर्न सकेनौं जहाँ सृजनसिल, योग्य र क्षमता भएका व्यक्तिहरुलाई हर किसिमबाट ढोका खोलेर भित्राउन सकियोस्’उनले भने । चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रालाई बीचमा अधुरो नछाड्न आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश जीलाई मेरो आग्रह छ, अगाडि बढ्नुस्, यात्रालाई अधुरो नछोड्नुस् । तपाइँहरूको साथमा पार्टीका नेता कार्यकर्ता र जनता छन् । मुलुकलाई विकासको खुड्किलोमा पुर्याउनुस् ।’