काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताएका छन् ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले झण्डै दुई दशकअघि शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको बताएका हुन्। उनले देश नबेनेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले भने, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ उनले देशबाट जनशक्ति मात्र नभई अब पुँजी र उद्यमीहरू समेत पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले स्वदेशी पुँजी पलायन रोक्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिएका छन् ।
उनले नारायणहिटीबाट बाहिरिएको दुई दशक बितिसक्दा पनि जनताले संकट भोगिरहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् , ‘झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहनाअनुसार हामीले “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो। नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।’
यस्तो छ सम्बोधनको पूर्णपाठ
स्वदेश तथा बिदेशमा रहे बसेका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको तीन सय चारऔं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।
जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पर्यो । झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहनाअनुसार हामीले ‘श्रीपेच र राजदण्’” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो। नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।
बडामहाराजाधिराजबाट बाइस बर्षको युवा अवस्था मै सुरु गरिबक्सेकोे एकिकरणको सफलता पछि आधुनिक नेपाललाई “चारवर्ण, छत्तिस जातको साझा फुलबारी” को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।
देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरु तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।
जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो । जसरी भविश्यका कर्णधारहरुको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरुमा भ्रष्टाचारप्रति असहिष्णुता र आइटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविश्यको संकेत हुन तर उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छिको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौं ।
नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्तीको कवज हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधिका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ ।
पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति ‘घाह’ नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट “कजाई” निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाँक्षा हुन् ।
अन्त्यमा, जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !

प्रतिक्रिया