कांग्रेसको विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछः घनश्याम भूसाल


काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्न लागेकोमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिएका छन् ।

शनिबार सामाजिक संजालमार्फत भूसालले शुभकामना दिँदै विशेष महाधिवेशनले नेपाली राजनीतिको मधुशाला भत्काउन सक्यो भने नेपाली राजनीतिको आजको गतिरोध तोड्न असाधारण योगदान गर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘गगन थापा र विश्वप्रकाशहरुको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरुकै मामिला हो । तर त्यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सक्यो भने नेपाली राजनीतिको आजको गतिरोध तोड्न असाधारण योगदान गर्नेछ । त्यसले नेपाली काङ्ग्रेसलाई काङ्ग्रेसीहरुको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ । बीच सडकमा दिन दहाडै भइरहेको तथाकथित विचारहरुको खुलेआम खरिदबिक्री रोकिने छ । त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ । कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ । शुभकामना !’

यस्तो छ भूसालको भनाई

नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरुकै हुनु पथ्र्यो । कम्युनिष्ट पार्टी कम्युनिष्टहरु कै हुनु पथ्र्यो । तर लामो समयदेखि नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु भन्दा कमरेड ओली, प्रचण्ड र फेरि प्रधानमन्त्री÷राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरुलाई चाहिएको छ । कम्युनिष्ट पार्टी एमालेहरु र माओवादीहरुको भन्दा बढि श्रीमान् देउवा र उहाँको गुटका मानिसहरुको ज्युनीजस्तो भएको छ । कम्युनिष्ट पार्टीका नीतिहरुमा श्री देउवाजीको प्रभाव बढि हुन्छ । नेपाली काङ्ग्रेसले के गर्नु पर्छ भन्ने कुरा कमरेड ओली वा प्रचण्डहरुको स्वार्थबाट प्रभावित हुन्छ । अर्थात्, नेपालको राजनीति कम्युनिष्ट र काङ्ग्रेसी नेताहरुको अन्तरपार्टी सिण्डिकेटको कब्जामा छ । र, के कुरा प्रमाणिकरुपमा भन्न सकिन्छ भने कम्युनिष्ट र काङ्ग्रेस भएर जति झगडा गरे पनि खास ठाउँमा त्यस सिण्डिकेटले सबैलाई एकै ठाउँमा ल्याउँछ । त्यस सिण्डिकेटको एकमात्र ध्येय सत्ता दोहन हो, राज्य दोहन हो । त्यस सिण्डिकेटलाई मैले करिब २५ वर्षदेखि दलाल पुँजीवाद भन्दै आएको छु । आफ्नै पार्टीभित्र कसैलाई नसहने तिनीहरु अर्को पार्टीका नेतासँग कसरी मिलिजुली बस्छन् र बाँडीचुँडी खान्छन् भन्ने कुरा हामीले भोग्दै आएका छौँ । हरिवंश राय बच्चनले ‘मधुशाला’ मा लेखेका थिए :

मुसलमान और हिन्दु हैं दो,
एक, मगर, उनका प्याला ..
बैर बढाते मस्जिद मन्दिर
मेल कराती मधुशाला ।।

नेपाली राजनीतिमा दलाल पुँजीवाद वा बिचौलियातन्त्रले मधुशालाले जस्तै कम्युनिष्ट र काङ्ग्रेस नामका विधर्मीहरुलाई एक ठाउँमा राख्दै आएको छ ।

गगन थापा र विश्वप्रकाशहरुको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरुकै मामिला हो । तर त्यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सक्यो भने नेपाली राजनीतिको आजको गतिरोध तोड्न असाधारण योगदान गर्नेछ । त्यसले नेपाली काङ्ग्रेसलाई काङ्ग्रेसीहरुको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ । बीच सडकमा दिन दहाडै भैरहेको तथाकथित विचारहरुको खुलेआम खरिदबिक्री रोकिने छ । त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ । कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ । शुभकामना !