कांग्रेसका २५ केन्द्रीय सदस्यको अपीलः विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान होस्


काठमाडौँ । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टीलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

शुक्रबार केन्द्रीय सदस्यहरु राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायतले अपील जारी गरी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको बताएका हुन् ।

उनीहरुले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोण का साथ निर्वाचनमा जानुपर्नेछ उल्लेख गरेका छन् ।

अपीलमा भनिएको छ, ‘२०८ २ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरुरी छ । परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोण का साथ निर्वाचनमा जानुपर्नेछ । यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ ।’

उनीहरुले विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्न आग्रह गरेका छन् । उनीहरुले भनेका छन्, ‘विशेष महाधिवेशन माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ उर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी वृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपील गर्दछौं ।’