काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा पुगेर मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ”, प्रधानमन्त्री कार्कीले भनिन्, ‘रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्काबेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ । जनताले मूल्याङ्कन गर्ने छन् ।’
मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।
घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ ।

प्रतिक्रिया