रास्वपाको समानुपातिक सूचीबाट सिर्जना वलीले लिइन् नाम फिर्ता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सामाजिक संजालमार्फत उनले नाम फिर्ता लिएको घोषणा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टीम बालेनबाट रास्वपामा सिफारिस भएको हो । यही कुरा टीमका सदस्यहरूले पनि भन्नुभएको थियो । यसका लागि म आभारी छु । नयाँ आउने सबैलाई शुभकामना । तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैं काम गर्न तयार छौँ । आवश्यक परेको खण्डमा ।’

सिर्जनासँगै रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ८ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका डा. त्रिशला गुरुङ, कलाकार आसिफ साह, सचिन ढकाल, प्राध्यापक महेन्द्र लावती, मिलन लिम्बु र अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन् ।