काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालयमा भएको घटना गलत भएको बताएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत उनीहरुले समर्थन–विरोधका नाममा मर्यादा नाघ्ने प्रवृत्तिको आलोचना गरेका छन् । त्यस्तै उनीहरुले संयम र परिपक्व राजनीतिक व्यवहार गर्न आग्रह गरेका छन् ।
विश्वप्रकाश शर्माको भनाई
पार्टीको केन्द्रीय कार्यालयमा बिशेष बैठकहरु चलिरहेका बेला मिडिया बाहेक अरुलाई प्रवेशमा रोक लगाउने हाम्रो पुरानै परम्परा हो । राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धि बैठकका कारण आज पनि अरुलाई प्रवेशमा रोक लगाइएको थियो । पार्टीका कतिपय साथीहरूले यो नबुझिदिँदा बाहिर व्यर्थमा समस्या उत्पन्न भयो ।
कुनैपनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ । तर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ । समर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो । आज अग्रज नेता विमलेन्द्र निधि कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नु र राजनीतिमा स्वस्थ राजनैतिक ब्यवहारलाई मात्रै प्रोत्साहित गर्नु हामी सबैको कर्तव्य हो ।
‘विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गर्नेझ भनेर आएको भ्रमपुर्ण हल्लालाई साथीहरूले ‘यस्तो कुनै कार्यक्रम नरहेको’ भनेर सार्वजनिक रुपले बिहानै स्पष्ट गरिसक्नु भएको थियो । स्वयं नेता निधिले ’विशेष महाधिवेशन पक्षधरले होइन अरुले गरेको बुझें‘ भनेर मिडियामा थप स्पष्ट गर्नुभएकै छ । यस्तो तथ्यका बाबजुद विशेषका पक्षधर साथीहरूलाई त्यसमा छिटा पार्ने प्रयास देखिनु दुःखद छ र निन्दनीय पनि ।
नम्रता साथ मेरो आग्रह छ– राजनीतिमा सहमति /असहमति, समर्थन/विरोध सबै कुरा हुन्छ । तर सबैभन्दा बढी जरुरी हुन्छ संयम र परिपक्वता । यसलाई सबै थरिले गम्भीर आत्मसात गरौं !
यस्तो छ गगनको भनाई
आज पार्टी कार्यालय बाहिर आदरणीय नेता बिमलेन्द्र निधिप्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ । असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’मा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ । म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ।

प्रतिक्रिया