नाउपाका पूर्व पदाधिकारी, थरुहट/थारुवान अभियन्ता रास्वपामा समाहित, नौ बुँदे सहमति


काठमडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र थरुहट/थारुवान अभियन्ताबीच नौबुँदे सहमति भएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा उनीहरुबीच नौ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिमा हस्ताक्षर भएसँगै उनीहरु रास्वपामा समाहित भएका छन् । उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

तीन शक्तिहरूबीच भएको नौबुँदे सहमतिमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार्ने सहमति भएको छ ।

सहमतिमा निजामती, न्यायिक, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरूको आरक्षण व्यवस्था अभ्यास पूर्णतः लागू गर्ने उल्लेख छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारुहरुको धार्मिक–सांस्कृतिक प्रणालीको संरक्षण र प्रवद्र्धन गर्न संविधानको धारा ५६ (५) को मर्म अनुरुप थारू बहुल क्षेत्रलाई थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्न कानूनी र संवैधानिक प्रक्रिया प्रारम्भ गर्ने, टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रुपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्च स्तरीय आयोगका सिफारिसहरुको उचित कार्यान्वयन गर्ने, भूगोल, जनसंख्या, सामथ्र्य र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका विविध आयामहरुमा सर्वदलीय राजनीतिक सहमतिका लागि पहल गर्नेलगायतका विषयमा सहमति भएको छ ।