रास्वपामा समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या बढ्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत पाँडेले पनि बन्दसूचीमा रहिरहने औचित्य नरहेको भन्दै नाम फिर्ता लिने घोषणा गरेका हुन् ।

उनले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘म सँधै देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु।’

पाण्डेसँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका डा. त्रिशला गुरुङ, कलाकार आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।