काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछि बन्ने संसदले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी गर्नुपर्ने बताएका छन् ।
बिहीबार राति भिडियो सन्देश जारी गरी महामन्त्री थापाले जेनजी आनेदोलनको मूल मर्म सुशासनको प्रवद्र्धन रहेकाले त्यसका लागि निर्वाचनपछि बन्ने संसदले गर्ने मुख्य कामकाबारेमा अहिले नै न्यूनतम समझदारी गर्नुपर्ने बताएका हुन् । उनले यसका लागि नागरिक समाजलाई अगुवाई गर्न आग्रह गरेका छन् ।
महामन्त्री थापाले सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेनजीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘जेनजी आनेदोलनको मूल मर्म सुशासनको प्रवद्र्धन थियो । त्यो मर्मलाई संस्थागत गर्ने कुरा अब हुने निर्वाचन वा बन्ने सरकार मात्रले सम्भव हुदैन। यस आन्दोलनले धेरै आधारभूत र जटिल विषयहरू बिउँत्याएको छ । यसका लागि, निर्वाचनपछि बन्ने संसदले के–कस्ता प्राथमिक काम गर्नुपर्छ भन्ने विषयमा अहिले नै न्यूनतम समझदारी आवश्यक छ । त्यसैले, सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकाय र जेन्जी साथीहरूलाई एकै ठाउँमा उभिएर यस्तो साझा समझदारीका लागि सहकार्य गर्न यसै भिडियोमार्फत अपील गर्दछु।’

प्रतिक्रिया