सरकारलाई माधव नेपालको प्रश्नः भदौ २४ मा कसले तोडफोड र लुटपाट गरे सिसीटिभी फुटेजबाट देखिन्छ, किन कारबाही नगरेको ?


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको विध्वंस, आगजनी र लुटपाटको घटना दण्डनीय भएको बताएका छन् ।

बन्दसूची बुझाएसँगै मुलुक निर्वाचनमा होमिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवादमा नेपालले यसका संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

उनले लुटपाट र आगजनीमा संलग्नहरुको भिडियो फुटेज यत्रतत्र रहेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे ।

उनले भने, ‘कसले तोडफोड गरेको भिडिओमा देखिन्छ। कसले लुटेको सिसीटिभी फुटेजबाट देखिन्छ। तर सरकार कारबाही गर्दैन ।’

उनले शान्ति बहाली गर्न राज्यका संयन्त्रहरू विफल हुनु र सरकारको ध्यान नपुग्नु गलत भएको बताए । उनले स्थायित्व, सुशासन र विकासका सन्दर्भमा विगतमा देखिएका कमीकमजोरी र समस्याबाट पाठ सिकेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्नेमा जोड दिए ।

नेपालले प्राकृतिक र विविध हिसाबले मुलुक सम्पन्न रहेकाले जनअपेक्षाअनुसार समृद्ध बनाउन संरचनागत क्षेत्रमा भएका त्रुटिलाई सच्याउँदै लाग्नुपर्ने बताए । उनले मुलुकको स्रोत, साधन र सम्पदाको सदुपयोग गर्न जोड दिँदै सत्ताको दुरुपयोग गर्ने र नीतिगत अस्थिरता उत्पन्न गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।