समानुपातिकमा अर्जुननरसिंह केसीको नाम मेरो चाहना विपरीतः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफ्नो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले केसीलाई आफ्नो चाहनाविपरीत समानुपातिक सूचीमा राखिएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो । मेरो र उहाँको आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन् । जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।’