विशेष महाधिवेशन हुँदै हुँदैनः सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नहुने बताएका छन् । मंगलबार बिहान केही पत्रकारसँगको भेटमा सभापति देउवाले विशेष महाधिवेशनले थप मनमुटाव पैदा गर्ने भएकाले त्यो सम्भव नभएको बताएका हुन् ।

उनले नियमित महाधिवेशन गर्दा हुने बताए । उनले भने, ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ । त्यसैले विशेष महाधिवेशन हुँदै हुँदैन ।’

सभापति देउवाले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसको असर निर्वाचनमा पर्ने आशंका गरे । उनले नियमित महाधिवेशनको बाधक भने आफू नहुने बताए ।

उनले भने, ‘निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु । गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।’ सभापति देउवाले आफू १५ औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ बस्ने बताए ।