नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध कायम भएको ७०औँ वर्षका अवसरमा यो वर्षभर आयोजित कार्यक्रमहरूको समापनका सन्दर्भमा शनिबार साँझ आयोजित स्वागत समारोहमा उनले सरकारीस्तरका साथै जनस्तरमा पनि द्विदेशीय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

उपसभामुख रानाले व्यापार, लगानी, भौतिक पूर्वाधारका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरिन् ।

कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताउँदै आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन, युवा विकासलगायत क्षेत्रलाई केन्द्रमा राखेर सहायता परिचालन गरिरहेको जानकारी दिए ।

हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकीहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रम समावेश गरिएका जानकारी दिँदै कार्यवाहक राजदूत चौले दुवै देशको साझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य रहेको बताए ।

सो अवसरमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।