अब विगतका गल्ती दोहोरिने छैनन्ः प्रचण्ड


सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए ।

संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकतासभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास जागेको बताए । उनले विसं २०४१/४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको बताए ।

संयोजक दाहालले भने,“हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्याउन सकिन्छ भनेर छलफलमा जुटका थियौँ । एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो । ४० वर्षदेखि एकताका काम भइरहेका थिए ।”

उनले कर्णाली नेपाली सभ्याताको जननी, जडीबुटी, जलस्रोतको भण्डार रहेको भन्दै यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । अब विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न आफूहरू क्रियाशील भएको दाहालको भनाइ थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलगअलग पार्टीलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरिएको र यसले सबैमा उत्साह थपिएको बताए ।

उनले जनता र देशको हितका पक्षमा काम गर्ने पार्टीको रूपमा नेकपालाई स्थापित गरिने उनको भनाइ छ । सहसंयोजक नेपालले भने,“देशका हरेक महत्वपूर्ण समयमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउनका लागि लोकतन्त, गणतन्त्र चाहिएको छ । यसर्थ देशको स्वतन्त्रतता, स्वाधीनता, देशभक्त पार्टीको रुपमा नेकपालाई स्थापित गर्र्नेगरी हामी लागिरहेका छौँ ।”