बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान


काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार साँझ पक्राउ परेका शेर्पा प्रहरीले बुधबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराएको थियो । अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गतवर्ष दोषी ठहर गरेको थियो । पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन् ।

अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए । उच्चले पनि जिल्लाको आदेश सदर गरे पनि राजनीतिक संरक्षणमा उम्किंदै आएका थिए ।