काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी पार्टीसहित नौ वामपन्थी दलबीच आज पार्टी एकता हुँदैछ । पार्टी एकताको लागि आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।
माओवादी र एकीकृत समाजवादीसँगै नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकताको लागि १६ कात्तिकमा सहमति भएको थियो ।
सोही सहमतिअनुसार औपचारिक रुपमा नौ पार्टीबीच एकीकरण हुन लागेको हो । पार्टी एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न पाँचकुने तारा राख्ने निर्णय भइसकेको छ ।
तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति तय गर्न पार्टी एकता गर्न लागिएको सहमतिपत्रमा उल्लेख छ । सहमतिपत्रमा उल्लेख भएअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
सहमतिपत्रमा राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार गर्न छुट्टै कार्यदल गठन गर्ने, संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल बनाउने र आगामी ६ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने उल्लेख छ ।

प्रतिक्रिया