काठमाडौँ । सरकारले फेरि राजदूतहरुलाई फिर्ता हुन पत्र पठाएको छ । राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको भोलिपल्ट सोमबार सरकारले उनीहरुलाई फेरि फिर्ता हुन पत्र पठाएको हो ।
परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी पुनः पत्र पठाएको छ । आइतबार सर्वोच्च अदालतले राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।
तर सर्वोच्चले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएपछि सोमबार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट नेपाल फर्कन पत्र पठाइएको हो । पत्रमा नेपाल आउनका लागि यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गरी २० गतेभित्र मन्त्रालयमा सम्पर्कमा आइपुग्न भनिएको छ ।
मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया