काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चुनाव गराउने दिशामा अघि नबढेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर, चुनावको वातावरण नै नबनेको बताएका हुन् ।
उनले चुनावी सरकार राजदूत फिर्ता गर्ने जस्ता निर्णय गर्न लागेबाट नै सरकारको नियत सही नभएको स्पष्ट भएको बताए । उनले सर्वोच्च अदालतका विगतका नजिरका आधारमा संसद् पुनस्र्थापना हुने दाबी गरे । अहिलेको सरकारलाई जनता र संसद्ले नचिनेको बताए ।
उनले भने, ‘जनताबाट निर्वाचित बहुमतप्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइँदैन भन्ने सर्वोच्च अदालतले जनता, प्रतिनिधि सभा र संविधानले चिन्दै नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने विश्वास गरेका छैनौँ। यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ ।’
उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताए । उनले वर्तमान सरकारले संवैधानिक परिषदमा उत्तीर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषदमा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए ।
जेनजी आन्दोलनमा भएको तोडफोडहरु युवाहरुहरुको आन्दोलनको उद्देश्य नभएको भन्दै उनले सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने कामहरुको पहिचान गरेर कारबाही गर्नुपर्ने बताए ।
उनले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा गर्ने बताए । उनले प्रमुख राजनीतिक दलबाट जनता अलग भइसके भन्ने भाष्य निर्माण गर्न खोजिएको र त्यो गलत छ भन्ने सावित गर्नका लागि आफूहरूले जनसभा गर्न लागेको बताए ।

प्रतिक्रिया