‘प्रचण्डलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन, किनकी दोषारोपण गर्नेहरु फेरि पुनानो बाटोमा फर्किँदैछन्’


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले विगतमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोष दिएर नयाँ बाटोमा लागेकाहरू पुरानै बाटोमा फर्किन लागेको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत गजुरेलले प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका बताएका हुन् ।

उनले भनेका छन्, ‘माओवादी पार्टी पटकपटक विभाजनको सिकार बन्यो । तर, ती विभाजनहरू विचारगत कारणले होइन, व्यक्तिगत महत्वाकांक्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम हुन् । यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन् ।’

यस्तो छ गजुरेलको भनाई

माओवादी पार्टी पटक–पटक विभाजनको शिकार बन्यो । तर ती विभाजनहरू विचारगत कारणले होइन—व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका परिणाम हुन् । यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन् ।

विडम्बना के छ भने-आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ । यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो ।२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी-मशाल, चौ.म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल-बीचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र संगठनात्मक आधार तयार गर्यो, जसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गरायो। अब, २०८२ सालको जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ ।

इतिहास फेरि दोहोरिँदैछ-तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो । अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ।