नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको सुखद पक्ष


-ऋषि कट्टेल ।

अहिले फेरि देश कम्युनिष्टमय बनेको छ । सत्तावाट मिल्किएपछि विसर्जनवादीहरु समेत छटपटाउन थालेका छन् । विसर्जनवादीका मुख्यकेन्द्र एमाले, माओवादी केन्द्र र समाजवादी पार्टीहरु बीच तीव्र अन्तरविरोधहरु बढिरहेका छन् । कार्यकर्तास्तरबाटै नेतृत्व र नीति प्रति गम्भीर प्रश्नहरु उठाइएका छन् । संसदीय राजनीतिमा यिनीहरु अस्तित्व रक्षाको लागि अनेक प्रपञ्च गर्न बाध्य भएका छन् । अर्कोतर्फ विसर्जनवाद विरुद्ध संघर्ष गरिरहेका क्रान्तिकारी पार्टीहरुमा पनि राजनीतिक कार्यदिशा, कार्यक्रमबारे व्यापक रुपमा बहस र पुनर्गगठनको अभियान चलिरहेछ । सारमा देश अहिले कम्युनिष्टमय बनेको छ । माओवादी युद्ध विसर्जनवादमा पतन भएपछि शून्यप्रायः भएको वैचारिक बहस प्रारम्भ भएको छ । यो कम्युनिष्ट आन्दोलनको विकासको लागि अत्यन्त सुखद सन्देश हो । स्मरणीय छ विश्वभर कम्युनिष्ट आन्दोलन महान बहसबाट नै अगाडी बढेको हो । यस्ता बहसहरुले कार्यकर्ताको चेतनास्तर अगाडी बढाउँछ र अवसरवाद परास्त हुन्छ । यस्ता बहसहरुलाई व्यापक रुपमा अगाडी बढाउनु पर्दछ । यस्तो बहसलाई विवाद वा विरोध मान्नु हुँदैन ।

अहिले बहुदलीय जनवादलाई सिद्धान्तमानेर मानेर लामो समयसम्म नेतृत्व गरेका माधव झलनाथहरु बहुदलीयजनवाद हैन भन्न थालेका छन् । बहुदलीय जनवाद भनेको संसदवाद हो । संसदवाद गलत भए अरु के त ? उनीहरुको अगाडी प्रश्न खडा भएको छ र उनीहरु वैचारिक रुपमा प्रस्ट हुन नसक्दा उनीहरुको संगठनात्मक हैसियत समाप्त हुँदैछ र आश्रयको खोजीमा पुगेका छन् ।
माओवादी केन्द्रको हातल त्यस्तै छ । माओवादको वैचारिक जगमा खडाभएको पार्टी अहिले माओवाद त्याग्न पुगेको छ भने संसदवादलाई क्रािन्तको महान उपलब्धिको रुपमा भ्रम छर्दै हिँडेको आज ऊ नांग्गे बनेको छ र पार्टी पुनर्गठनको व्यापक बहस पार्टी भित्र अगाडी बढिरहेको छ । पार्टीभित्रका अन्तरविरोधहरु छताछुल्ल भइरहेका छन् । कि सच्चिने कि सक्किने नारा लागिरहेछ । नेतृत्वलाई आफ्नो विसर्जवादी चेहरा छोप्न हम्मेहम्मे परिरहको छ ।

विसर्जनवादको केन्द्र एमालेभित्र पनि जबजविरुद्ध स्वरहरु उठ्न थालेका छन् । जबजको वैचारिक योजनाकार मध्येको एक केपी ओली हुन् । हिजो जबजमाथि प्रहार हुँदा बोक्ने ओली र वामदेव हुन् । आज वामदेव जबज छोडेर हिँडिसके । ओलीको नेतृत्व सकिएपछि जबजको प्राधिकार पनि स्वतः सकिन्छ । अहिले सत्तावाट टिपेर फ्याँकिदिएपछि उनीहरुले अपनाएको जबज अर्थात् संसदवादको औचित्यपनि स्वतः समाप्त भएको छ । यसरी त्यस पार्टीभित्र पनि नयाँ बहसको प्रारम्भ हुने बाध्यत्मक अवस्था सिर्जना भएको छ ।

यसरी विसर्जनवादीहरुको सत्तारोहणको भर्याङ भाँचिएको छ । जसले गर्दा विसर्जनवादको भ्रममा अल्झिएका हजारौं कार्यकर्ताको आँखा खुल्न लागेको छ । यसले कम्युनिष्ट आन्दोलनभित्र नयाँ बहसको सिर्जना गरेको छ । विसर्जवादको केन्द्र एमालेको पतन कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको निर्माणको मुख्य आधार हो । आउनोस् सैद्धान्तिक बहसलाई अझै उचाइमा उठाउँ । अवसरवादलाई परास्त गरौं ।