अब रोकिनुस् महासचिवज्यू !


-सुवोधराज प्याकुरेल ।

गैरसरकारी संस्थालाई राजनीतिक कार्यको स्टेक–होल्डर बनाउने कार्य नै त्रुटीपूर्ण थियो कि अमुक गैससको नाममा सरकारले आँखा चिम्लिएको गैससलाई स्टेकहोल्डर बनाउने कार्य चाहिँ त्रुटिपूर्ण थियो ? कार्तिक ५ मा प्रधानमन्त्रीसँगको सर्वदलीय बैठकमा एमालेका महासचिव शंकर पोखरेलले भएभरका गैससलाई एउटै डालोमा हालेर चरम कृतघ्नता दर्शाएका छन् । उनको त्यो प्रयास आफ्नो कमजोरी र लवस्तरोपनलाई ढाक्न गरिएको कमजोर पहल मात्र हो ।

आफू तोपले पनि नढल्ने बलियो सरकारको मुखियागिरी गरिरहेको बेलामा २ बर्ष भन्दा बढी समयदेखि सरकारकोविरुद्धमा र प्रधानमन्त्रीलगायत खासखास व्यक्तिको विरुद्धमा सञ्चालित संगठित अभियानकोबारेमा पत्तो नलिने नपाउने हुस्सुहरुले गर्ने प्रलाप यस्तै हुन्छ । भदौ २२ गते नै आन्दोलनलाई विध्वंसात्मक बनाउन सारा पूर्वाधार तयार गरि सकिएको कुरा अहिले सञ्चारमाध्यमले गरेको प्राथमिक अध्ययनले समेत पुष्टि गरिरहेका छन् । त्यसैले महासचिवको यस्तो अभिव्यक्ति अस्वाभाविक छैन । अहिले फेरि गैरसरकारी संस्थाकोविरुद्ध वान्ता गर्दैछन् यसरी कि मानौँ सबै गैसस कुकर्मी हुन्छन् ।

पाइलैपिच्छे सरकारका अनेक निकाय स्थानीय तह आन्तरिक राजश्व समाज कल्याण परिषदबाट निर्देशित नियन्त्रित भइरहनु पर्नेमा केही गैससले कसरी कुख्यात ठाउँबाट करोडौँ ल्याए र बेहिसाब खर्च गरे भन्ने कुरामा आँखा चिम्लने केपी ओलीको सरकार आफैं बोक्सी आफैं झाँक्री भयो कि भएन ? नालायकले मात्र आफ्नो नालायकीपन अरुलाई दोषेर उम्किन खोज्छ। शंकर पोखरेल पाइलैपिच्छे हुस्सु विवादित र मूर्ख सावित भइरहेका छन् । जबकी उनी नै केपीका आधिकारिक विज्ञको रुपमा प्रस्तुत हुने गर्छन् ।

०६२–६३ को आन्दोलनमा गैसस महासंघमा यीनै पार्टीका नेता गुहार माग्न आएका थिए । हामीले शर्त राख्यौँ र ७ दलका मुखियाले टुँडिखेलमा आत्मालोचना सहित आयन्दा विगतको जस्तो गल्ती नदोहोर्याउने वाचाबन्धन गरे । अनि हाम्रो पहल र अगुवाईमा देशव्यापी आन्दोलनको श्री गणेश भयो । कृतघ्नता र बेशर्मीको पनि हद हुन्छ । यस्तै मतिले राज्यको नेतृत्व पाइन्छ ?
अरु स्खलित हुने बाटोमा नलाग्नुस् । दलको पदाधिकारी हुनुहुन्छ तपाईँहरु, मालिक होइन। हजारौँको त्याग बलिदान र संघर्षले एमालेलाई हुर्काएको जन्माएको हो। उनीहरुको लाज राख्न सिक्नुस् । हद भयो । अब रोकिनुस् ।