-नारायण गाउँले ।
बिएस्सी नर्सिङ गरेका स्वास्थ्यकर्मीले जम्मा १० हजार तलबमा काम गरिरहेको सुन्दा साह्रै नमज्जा लाग्ने रहेछ । यति महँगी छ कि त्यति पैसाले कोठाभाडा तिरेर नूनसँग मात्रै गास टार्न पनि पुग्दैन । दिउँसो एक कप चिया र खाजा खायो भने ऋण लाग्ने भयो । उत्कृष्ट नम्बर ल्याएपछि पनि कडा प्रवेश परीक्षा र लाखौं खर्चेर नर्स बनिन्छ । देशको अब्बल र दक्ष जनशक्तिको पीडा यस्तो छ ।
छोराले ब्याचलर सकेको छ । आर्थिक स्थिति कमजोर छ । काठमाडौं बसेर पढ्न सक्ने अवस्था छैन । यसो एकदुई वर्ष काम गरेर पढ़ौँ भन्न कतै केही सुराक छैन । जग्गा बेचेर काठमाडौं पढम्, जागिर पाइने ग्यारेन्टी छैन । काठमाडौं पढ्न ऋण दिने नै पनि छैनन् । खेती गर्ने भन्न सजिलो छ । सबैभन्दा महँगो जमीन नै छ । सबैसँग छैन । चार महिना खेतमा खटेर भित्रÞ्याएको धानले बिउ छर्नेदेखि मल–गोडमेल र झाँट्नेसम्मको खर्च पनि नउठ्ने रहेछ ।
व्यापार व्यवसाय त देशमा दुश्मन कमाउने पेशा जस्तो रहेछ । नेतादेखि टोले गुण्डा पाल्दापाल्दै धेरै त डुब्ने नै हो । यसो संयोगले सफल भइयो या उठियो भने शोषक भइयो । आँखाको तारो भइयो । कुन दिन के निहुँमा आगो लाग्छ र सड़कमा आइन्छ, यसै भन्न सकिन्न । महँगी आकाश छुने स्तरको छ । न मन लागेको फलफूल किनेर खान सकिन्छ न मन लागेको ठाउँमा घुम्न । कमाएर घरजग्गा जोड्ने भन्ने त सपना मात्रै बन्दै छ । सटरपिच्छे रेस्टुरेन्ट छन् तर स्कुल पढाउने तलबले त्यहाँ पस्न सकिन्न ।
राजनीति हेर्यो, भविष्य हेर्यो, के हुँदै छ, के बनाउन खोजिएको हो या के बन्ने हो, थाहा छैन । भोलि अलि सुध्रिने हो कि, झन् बिग्रिने हो, यसै भन्न सकिन्न । ती नर्सलाई, ती ब्याचरल सकेका युवालाई के भनेर धैर्य दिने हो ? भोलि तलब बढ्छ भन्ने हो कि, भोलि महँगी घट्छ भन्ने हो ? घरजग्गा भन्ने माया र मोह मात्रै हो भन्ने हो कि, राष्ट्रभक्तिको तपस्या यस्तै हुन्छ भन्ने हो ? निजी स्कुलमा १०–१५ हजारमैं दलिएका शिक्षक–शिक्षिकालाई कुन भविष्यको सपना देखाउने हो ?
प्लसटु सक्दा नसक्दैका बच्चालाई आमाबुबाको काख छोडेर अनिश्चित भविष्यको गर्तमा नहामफाल्ने सुझाव त सजिलै दिन सकिन्छ तर ती अभिभावक र बच्चाका आँखामा स्पष्ट देखिने यी प्रश्नको उत्तर दिन सजिलो छैन । अझ हामी अधिकांश धारणा काठमाडौं र भरतपुरजस्ता शहर हेरेर बनाउँछौं । देशमा बाजुरा, डोल्पा, कालीकोट र हुम्लाजस्ता विकट र पिछडि़एका जिल्ला अनि तीभित्र सयौं गाउँ पनि छन्, जसका लागि जुम्ला नै पनि काठमाडौंजस्तो छ र काठमाडौं बिदेशजस्तो छ ।
केही छैन भन्दै देश नै रित्तिनु त भएन । निराशाको तेलले सुन्दर भविष्यको बत्ती बल्दैन । हामीलाई आशा र सपना चाहिएको छ । तर आशा पनि पत्यार लाग्ने खालको, विश्वास जाग्ने खलको, हात अगाडि बढाए छोइने खालको र जीवनलाई आड़भरोस दिने खालको चाहिएको छ । आशाको बिउ जसले जहाँबाट रोपे पनि हुन्छ । तर राजनीतिको ड्याङमा आशा उमार्न सके त्यसको सुवास देशभरि फैलिन्छ । राजनीति गर्ने र गर्छु भन्नेले १० हजार तलब बुझ्ने नर्सलाई तिम्रो भविष्य यहीँ छ र यसरी छ भनेर बुझाउन सक्नुपर्छ । त्यतिन्जेल बाँच्ने प्रेरणा र साहस भर्न सक्नुपर्छ ।

प्रतिक्रिया