लाखौँ सहकारी पीडितको आर्तनाद सुनिदिनुहोस् प्रधानमन्त्रीज्यू !


-सुवोधराज प्याकुरेल ।

सम्माननीय प्रधानमन्त्री, दिदी सुशीला कार्की, लाखौँ सहकारी पीडितको आर्तनाद सुनिदिनुहोस्  । विदेशमा पनि वैभवशाली जीवन बिताइरहेका छन् सहकारी ठगीका नाइकेहरु । उनीहरुले जुन मनपरी गरे त्यसलाई समयमा परीक्षण गर्ने निगरानी गर्ने र नियन्त्रण गरेर जवाफदेही बनाउने निकायका जिम्मेवारलाई तत्काल थुनामा राखेर छानबिन गर्न सकिन्न ? पूर्ण दण्डहीनताको लाभ लिने ती हाकिमहरु बराबरका दोषी हुन् । तर नेपालको कानून नियमावली र कार्यविधि यसरी गाँजेमाजे बनाइएको छ कि जिम्मेवारले जवाफदेही हुनै पर्दैन । लौन दिदी, यताबाट सोच्न र गर्न थालौँ । त्यो लहराले अनेक पहरा भत्काउने छ । संस्कार सच्याउने छ ।

उदाहरणको लागि सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनले बिना धितो अनेक निजी अस्पताल कलेज आदिमा लगानी गरे । बिना तमसुक करौडौँ गवन गरे । तत्कालीन प्रधानमन्त्री लगायतलाई बोलाएर कार्यक्रम गरे । उनीहरुबाट भरमार प्रशंसाको लिखित प्रमाण सहकारीको बुलेटिनमा छापे । कार्यालयको भित्तामा यत्रतत्र उनीहरुसँग खिचेको फोटो टाङे । अन्त्यमा विधि नपुगेका लगानीको सुरक्षाको आवश्यक प्रबन्ध कार्यसमितिले गर्ने निर्णय सहित नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिएर आफू सपरिवार बेलायत गए । उतै लाखौँ पाउण्डको आर्थिक हैसियत देखाएर त्यहाँ आलिशान जिन्दगी भोगिरहेका छन्, सपरिवार । पुँजीवादी बेलायतले त्यस्तालाई केवल श्रोतको नजरले हेर्दो रहेछ । कोही मलेसियामा छन् । कोही मध्यपूर्वको गोल्डेन भिषामा । त्यस्तालाई कमसेकम तिनीहरु रहेकै देशको लोकप्रियताको साख कमाएका पत्रिकामा तिनको सकल परिवार सहितको फोटो र तिनले नेपालमा गरेको अपराधको नालीबेली छाप्न सकिन्न दिदी ? तिनको इज्जत त धुलधुसरित होस् । सरकारहरु आए गए । तर तिनको लवस्तरोपनले गर्दा न हो यो विधिको आक्रोश ।