२४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति कांग्रेसको आपत्ति


काठमाडौं । नेपाली काङ्ग्रेसले भदौ २३ र २४ गते भएको अराजक गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने माग गरेको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले अराजक गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २४ गते लुटपाट र आगजनी गर्नेमाथि आक्रमण गर्नेबारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो, नेताहरुमाथि आक्रमण भयो, राष्ट्रिय संरचनामाथि पनि आक्रमण भयो, यसका बारेमा तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुरामा हामी सबैको समान दृष्टिकोण आएको छ ।’

यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए ।

२४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति पार्टीको गम्भीर आपत्ति रहेको उनले बताए ।