काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको माग लिएर आफूहरु अघि बढ्ने बताएका छन् ।
बिहीबार भक्तपरको गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका हुन् ।
उनले असंवैधानिक सरकारले गरेका हरेक कार्य गलत भएको भन्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन तत्काल संसद पुनस्र्थापना पहिलो सर्त भएको बताए ।
उनले भने, ‘देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन । फागुन १ गते पर्खिने बेला छैन । मुलुक अघि बढाउनुपर्नेछ । संसद पुनस्र्थापनाबाहेक अन्य मान्यता स्वीकारेर हिँडियो भने देश बर्बाद हुन्छ ।’
उनले संसद पुनस्र्थापनाको बाटो अन्य दल पनि आउने बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले दलहरू लोकतन्त्रका सर्जक भएको हुँदा उनीहरूसँगको सहकार्यबिना सरकार अघि बढेको उनको बताए । राष्ट्रिय शक्तिहरू एकजुट हुनुको विकल्प छैन नभएको भन्दै उनले देशभित्रका लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।
उनले भने, ‘अचानक भुईंफुट्टा तत्वहरू सक्रिय भए । राजनीतिक निर्णय गर्न दलहरूलाई सहभागी गराइएन । अमुक ठाउँमा वार्ता गर्नुपर्ने ? यो सरकारका हरेक कदम असंवैधानिक छन् । देशलाई अनिश्चयको बाटोमा हिँडाउन खोजिएको छ । राष्ट्रिय शक्तिहरू एकजुट हुनुको विकल्प छैन ।’

प्रतिक्रिया