गृहमन्त्री अर्याललाई गिरफ्तार गर्न एमाले नेता बर्तौलाको माग


काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यबिरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत बर्तौलाले जेनजीको शान्तिपूर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने गृहमन्त्री अर्याल भएको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’

बर्तौलाले अर्याल थोरै पनि मेहनत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरु छानीछानी नष्ट गर्ने, व्यक्तिका घरहरु, व्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् । सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी । शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मेहनत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता, दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरि राज्यबिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्छ ।’