इजराल र हमासबीच ‘शान्ति सम्झौता’


बीबीसी । इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ । युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजराललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको महान् दिन’ भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्। बिहीबार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरालले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

इजरायल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरायली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरायली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ ।

यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले जानकारी दिए।