पूर्वराजाको सन्देशको अर्थ


-रवीन्द्र मिश्र

सदाझैँ देशभक्ति र मेलमिलाप मैँ जोड ! गलत मूल्याङ्कन, हठ, अहं, आवेग, बैचारिक दासता, बदलाभावले यो देशलाई गर्नु क्षति गरिसक्यो । पछिल्लो चरणका विभिन्न अन्तर्वार्ता, टिप्पणीहरू हेर्दा परिस्थिति झन जटिल भएर जाने देखिन्छ । अबको खति र क्षति अझ ठूलो हुनेछ। देश बचाउने र बनाउने हो भने मिल्नुको विकल्प छैन।

पूर्व सरकारले ‘राजा’लाई ‘पूर्व राजा’ लेखियोस् भन्ने चाहेको थियो। राजाले आज त्यसै गरिदिए। १७ वर्षअघि राजालाई दलहरूले निकाल्न चाहे, उनले हाँसीहाँसी पत्रकार सम्मेलन गरेर गद्दी त्यागिदिए । संसारभरीका राजाहरू गद्दीच्यूत गरिएपछि भागेर विदेश जान्छन्, उनी नेपालमैँ शालिनतापूर्वक बसिरहे।

उनी शालिनतापूर्वक बसिरहे, दलहरूले शालिनता गुमाउँदै गए -पातालमैँ पुगे। जनताको ठूलो हिस्साले फेरि राजा खोजे। राजाले चाहिँ ‘दलहरूको पनि सहमति नभई नफर्किने’ बताए । दशैँको विज्ञप्तिमा पनि उनले राष्ट्रिय मेलमिलापमाथि नै जोड दिएका छन् । टाउको काट्ने र काटिनेहरू मिल्न सक्छन् भने देश नै झन्झन् गहिरो संकटमा फस्दै गर्दा आफूले आफैँलाई विचारको झ्यालखानामा बन्दक बनाउनु सबैका लागि घातक हुनेछ । अब कि मिलौँ, कि अझ बर्बाद हौँ। अर्को बाटो छैन। देश दशकौँका लागि ध्वस्त हुन समय लाग्दैन। त्यस्ता देशहरू धेरै छन् ।