काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी पुनःजागरुक भई अगाडि बढ्ने बताएका छन् । आइतबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्ति कहिल्यै सफल नहुने बताएका हुन् ।
उनले भने, ‘हामी देश र जनतालाई माथि राखेर फेरि उठ्न सक्छौं । कांग्रेस फेरि माथि उठ्छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र देशलाई अस्थिर बनाउन चाहने शक्ति सफल हुने छैनन् । हामी एकीकृत भएर लोकतन्त्रको रक्षा र देशको मजबुतीका लागि अगाडि सर्छौं ।’
उनले पछिल्लो समय राजनीतिक दलहरु विरुद्ध षड्यन्त्रपूर्वक आत्मविश्वास घटाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेस त्यो षड्यन्त्रको शिकार बन्न नदिने बताए। उनले भने, ‘हाम्रो आत्मविश्वासलाई थाङथिलो पार्ने योजना अन्तर्गत सबै षड्यन्त्र गरिएको हो । तर कांग्रेस पार्टी सधैं लोकतन्त्र, जनता र राष्ट्रको पक्षमा दृढताका साथ उभिएको छ ।’
पार्टी कार्यालय र नेताहरुका घरमा भएको तोडफोड र आगजनीप्रति टिप्पणी गर्दै महतले त्यस्ता घटना कांग्रेसको आत्मबल तोड्न नसक्ने जिकिर गरे ।
उनले नेपाली कांग्रेसभित्र रहेका कमजोरी र त्रुटिहरूको समीक्षा गर्दै नयाँ सोचसहित अगाडि बढ्ने प्रतिबद्धता जनाए।
महतले राजनीतिक दलहरू बलिदान र त्यागबाट बनेका हुनाले तिनलाई कमजोर पार्ने कुनै षड्यन्त्र सफल नहुने विश्वास व्यक्त गरे । साथै, पार्टीपंक्तिलाई आत्मविश्वासका साथ एकीकृत हुन पनि उनले आग्रह गरे।
उनले पार्टी सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताए । प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताए ।
उनले भने, ‘उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। सांघातिक रुपमा हमला हुने देख्दा देख्दै पनि घर छोड्नुभएन भने देश छोड्नुपर्ने कुनै कारण छैन ।’
उनले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको बताए । उनले भने, ’पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ ।’

प्रतिक्रिया