‘बिगार्ने होइन, सपार्ने’ तिर आफ्ना कार्यक्रमहरू अघि बढाउन पूर्वराजाको आह्वान


काठमाडौँ ।पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन् । उनको सन्देशमा पूर्वजहरूको त्याग र बलिदानबाट प्राप्त नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुता नै राष्ट्रको अस्तित्व र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको कुरा स्मरण गराएका छन् ।

पूर्वराजा शाहले नेपालले कुनै पनि परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले देशको राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्धमा जन मनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय देश र जनताको हितका खातिर गहिरो चिन्ता व्यक्त गर्दै उनले विगतमा ‘बिगार्ने, भत्काउने, जलाउने’ तिर धेरै काम भएको भन्दै अब ‘बिगार्ने होइन, सपार्ने’ तिर आफ्ना कार्यक्रमहरू अघि बढ्नुपर्ने आह्वान गरेका छन् ।

उनले युवा पुस्तालाई राष्ट्रका भविष्यका आधारस्तम्भको रूपमा चित्रण गरेका छन्। युवाहरूमा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने कुरामा उनले विश्वास व्यक्त गरेका छन् ।