काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री पुनले पुराना नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुन मन्त्री पुनले अपील गरेका हुन् ।
उनले भनेका छन्, ‘प्रस्ट आह्वान– भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आवस् भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्दछु। कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन।’

प्रतिक्रिया