अहिले प्रतिशोधात्मक व्यवहार देखियोः अध्यक्ष ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक विकास, सुशासन र न्यायको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गरे ।

उनले भने, ‘हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्नेछ ।’

उनले अभिव्यक्ति स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताए । ओलीले अहिले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको भन्दै असन्तुष्टी जनाए ।

उनले भने, ‘मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ । के हो मेरो अपराध ? मैले भ्रष्टाचार गर्दिनँ र गरेको छैन । विकासको खाका कोर्न नेतृत्व गरेको हुँ । हिंसा र पृथकतावादी शक्तिलाई ल्याएर एकता गर्नु अपराध हो ?’

देश त्रासमय बनेको र मान्छेसँगै डराउनुपर्ने स्थिति आएको भन्दै ओलीले चिन्ता व्यक्त गरे ।