नेतृत्व हस्तान्तरण कसैलाई टिको लगाएर निर्माण हुने कुरा होइनः अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षाका लागि फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनका लागि पार्टीले वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले परिस्थिति जटिल रहेकाले निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘लोकतन्त्र रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड गर्ने हो ।’ उनले आफूले अध्यक्ष पद आफैंले मागेर पाएको नभई परिस्थितिले जिम्मेवारी काँधमा हालिदिएको बताए ।

उनले भने, ‘४६ सालको जनआन्दोलन अगाडि रोक्दा रोक्दै अन्ततः परिस्थिति त्यस्तो आयो कि मैले महामन्त्रीको जिम्मेवारी लिनै पर्यो। त्यसपछि जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा र गणतन्त्रसम्म आइपुग्दा पार्टीले दिएको विश्वास बोकेको हुँ ।’

उनले नेतृत्व हस्तान्तरण कसैलाई टिको लगाएर निर्माण हुने कुरा नभएको भन्दै एउटा वैज्ञानिक विधि र प्रक्रियाबाट हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘नेतृत्व हस्तान्तरणको निम्ति हामी तयार हुनैपर्छ। जेनजी आन्दोलनको भावना लगतै निश्चित विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नेबारे मैले सार्वजनिक रूपमा अपील गरिसकेको छु।’ उनले देशी विदेशी चलखेल र हस्तक्षेप भएको आजको सन्दर्भमा नेतृत्व हस्तान्तरण जिम्मेवारीपूर्वक र विधिसम्मत रूपमा गरिनुपर्ने बताए।