देशलाई वैकल्पिक राजनीतिक अभियानमा लैजान पद त्याग गरेको हुँः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल समाजावादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद छाडेर आफू आन्दोलनबाट अलग नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले आफूले अध्यक्ष पद त्यागे पनि आन्दोलन नत्यागेको बताएका हुन् ।

वैकल्पिक राजनीतिक अभियानमा देशलाई लैजान आफूले पद त्यागेको बताए । उनले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, देशलाई कुनै विकल्प निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ । आज पनि छु । निरन्तर रहनेछु ।’

उनले अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताए । उनले भने, ‘नैतिक हिसाबले पनि नवयुवाले ढोका ढकढक्याइसके । नाति, नातिनी पुस्ता अघि आइसके । अब उनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरूले नै देशको नेतृत्व गर्नुपर्छ ।’

उनले वर्तमान सरकार आन्दोलनकारीप्रति प्रतिबद्ध हुनुपर्ने बताए । उनले जेनजी युवा आन्दोलन जायज भएको बताए । उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने तर त्यो गर्न नसकिए भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने बताए । भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थीरता नआउने उनले बताए ।