केही समय धैर्य गर्न मन्त्री घिसिङको आग्रह


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे जानकारी दिँदै माथिको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोन तुरुन्तै उठाउन नसकेको भन्दै क्षमायाचना गरेका छन् । उनले भनेका छन्, ’तपाईंलाई आश्वस्त पार्न चाहन्छु– तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।’

यस्तो छ कुलमानको भनाई

आदरणीय दिदीबहिनी एवम् दाजुभाइहरू,
तपाईंहरूको साथ र विश्वास मेरो लागि अमूल्य छ। हरेक दिन तपाईंहरूको चिन्ता, सुझाव र आशाहरू मलाई प्रतिकात्मक रूपमा प्राप्त हुन्छन् र तिनीहरू नै मेरो काम गर्ने प्रेरणा हुन्। धेरै शुभचिन्तकहरुले फोन, मेसेज र अन्य सामाजिक सन्जालमार्फत मलाई सम्पर्क गरिरहनुभएको छ, महत्वपूर्ण सल्लाह, सुझाव दिइरहनुभएको छ। यहाँहरु सबैले कल र सन्देशहरूमा उठाउनुभएको कुरा सम्बोधन गर्न हामी प्रतिवद्ध भएर लागेका छौं ।

ठूला परियोजनास्थल र विकास कार्यहरूको प्रत्यक्ष अनुगमन, योजना र व्यवस्थापनमा सक्रिय रूपमा व्यस्त भएको कारणले, सबै फोनहरू तुरुन्तै उठाउन म सक्षम हुन सकिरहेको छैन । यसमा तपाईंहरूको धैर्यताको अपेक्षा गर्दै म विनम्र क्षमायाचना गर्दछु।

यो व्यस्तता कुनै व्यक्तिगत संवेदनाको अभावले होइन बरू यो तपाईंहरूको भविष्य, सामाजिक सुरक्षा र दीर्घकालीन समृद्धिका लागि गरिरहेको दृढ प्रयासका कारण हो।

जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौं ।

एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामू छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यहि हो ।

तीन वटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी बहन गरिरहदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र यसै सिलसिलामा यहाँहरुले खोजेको समयमा भौतिक रुपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन ।

तपाईंलाई आश्वस्त पार्न चाहन्छु– तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउदछु।
मैले सम्हालेका मन्त्रालयसङ्ग सम्बन्धित कुनै गुनासो, समस्या वा सुझाव भए हामीलाई पठाउनुहोला, त्यसका लागि निम्न शैली अपनाइदिनुहोलाः

१.आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका/नगरपालिका/म​हा-नगरपालिका), र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।
२. सन्देशको सार संक्षेपमा (१-२ वाक्य) र आवश्यक supporting कागजात/फोटो भए संलग्न गर्नुहोस्।
३. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा ‘URGENT / अत्यन्त जरुरी’ उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।
तपाईंहरूको सुझाव, सचेतना र प्रतिक्रियाले हामीलाई अझै सबल बनाउँछ।