काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन् ।
मंगलबार मन्त्री पुनले विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका हुन् ।
त्यस्तै मन्त्री पुनले विश्वविद्यालयलाई बढीमा तीन महिना भित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन् ।
उनले भनेका छन्, ‘केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो । त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने । समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।’
उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बगैंचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया