काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरुको छानबिनका लागि सहयोग गर्ने बताएको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरुको तस्बिर र भिडियोहरु सार्वजनिकरुपमा आउँदा आत्मालोचनासहित राजीनामा दिएको बताए ।
उनले कास्की जिल्ला समितिले आफैं दुई जना वडा सभापतिहरुलाई कारबाही गरेका बरु अरु पार्टीले भने कार्यकर्ताको संरक्षण गरेको आरोप लगाए ।
उनले भने, ‘तस्बिर, भिडियो आउँदा पनि अरु पार्टीले संरक्षण गरेका छन् । हामी भने त्यसलाई सघाउ पुर्याउन तयार छौं । अभियोगहरुका बारेमा छानबिन गर्न आग्रह पनि गर्दछौं ।’
उनले नक्खु कारागारमा आगलागी नगर्न रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि गलत आरोप लगाइएको बताए ।
उनले आफ्नै पार्टी सभापति दुई मिटर टाढा रहेको र सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगाउँछ कि भन्ने डरले रोक्न गएको बताए । उनले भने, ‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस् ।’
त्यस्तै रास्वपाले भदौ २४ गते पार्टी सभापति रवि लामिछानेलाई सुरक्षा दिन नसक्ने भन्दै नख्खु कारागारबाट बारम्बार फोन आएपछि बाहिर निकालेको दाबी गरेको छ । सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनबाट सुरक्षाका लागि पार्टीका शीर्ष नेता र परिवारलाई फोन आएको बताइन् ।

प्रतिक्रिया