काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रसाईंले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् ।
उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।
उनले भने, ‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो । यो त हुँदै नहुने कुरा भयो ।’
उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैँपछि हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए ।
उनले भने, ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दू राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ । पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन । कोठाभित्र बसेर स्टाटस लेख्ने होइन, सडकबाट आन्दोलन गर्छौं ।’
उने आफूले पाथीभरा देवीसँग व्यवस्था परिवर्तनको कसम खाएर आएको बताए । उनले भने, ‘दुर्गा मातालाई के भनेर आएको छु, अरू मागेको छैन । यो व्यवस्था परिवर्तन नगरी आउन्न भनेर आएको छु । यो देशको रक्षाका लागि बलि दिन तयार छु ।’

प्रतिक्रिया