अमेरिकी राजदूतको चासोः एमसीसीको सहयोगमा सञ्चालित परियोजना समयमै सम्पन्न हुन्छन् ?


काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेका छन् । सोमबार राजदूत थम्पसन र अर्थमन्त्री खनालबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित एमसीए नेपालबाट कार्यान्वयन भइरहेका परियोजना समयमै सम्पन्न गर्ने कार्यमा सरकारको थप प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । उनले सरकारका तर्फबाट यी परियोजना समयमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए ।

अर्थमन्त्री खनालले ती परियोजनाको सफल कार्यान्वयनका निम्ति सरकारका तर्फबाट गर्नुपर्ने कार्यमा ढिलाइ नहुने विश्वास व्यक्त गरेका थिए ।

उनले नेपालको सामाजिक, आर्थिक विकासमा अमेरिकी सरकारका तर्फबाट हुँदै आएको निरन्तर सहयोगको उच्च सराहना गरे । भविष्यमा समेत यसप्रकारको सहयोग प्राप्त भइरहने उनले आशा व्यक्त गरेका अर्थ मन्त्रालयले जनाएको छ ।

छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माण योजना र सहुलियत प्याकेजका माध्यमबाट निजी क्षेत्रको मनोबल माथि उठाउनु रहेको बताए ।