आलो घाउ ठिक नहुँदै पार्टीभित्र नेतृत्व परिवर्तनकाबारेमा सुरु भएको बहसप्रति गम्भीर छौँः प्रवक्ता महत


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आन्दोलनकारीको आक्रमणबाट घाइते भई पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमा उपचार गराइरहेका बेला पार्टीमा नेतृत्व परिवर्तनकाबारेमा बहस चलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी प्रवक्ता महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन् ।

उनले पार्टी सभापति उपचार गराइरहेका बेला यस्तो बहस गर्न नहुने बताए । उनले भने, ‘अभिभावकमाथि सघातिक प्रहार हुँदा उपचार पनि पुरा हुन पर्खन पनि सक्दैनौ ? आकाश झरिहाल्छ ? अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौ । घटनाको मूल्याङ्कन पनि गर्छौ र सुधार पनि गर्छौ । कतिपय जिम्मेवार साथीहरु आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुखको कुरा हो । आलो घाउ ठिक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ । जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो ।’

महतले भदौ २३ गतेभन्दा चारदिन अघिसम्म त्यही सभापतिका नजिककाहरुले अहिले विरोध गरिरहेका बताए । उनले भने, ‘२३ गतेको चारदिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने । जुन साथीहरुले अहिले प्रश्न उठाउनुभएको छ । नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ । उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । उहाँहरुको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरु नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । कतिपय कुरा ठिक छैनन् । नयाँ परिस्थिति बन्नेबित्तिकै अब एकछिन पनि हुँदैन भनेको के हो ?’

महतले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने बताए ।