पार्टी पुनर्गठनका लागि मनाउने हो, भन्ने हो तर कोही मानेन भने यो पटक छाड्ने होइनः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाको भावना समेट्नका लागि आफू पार्टीको साधारण सदस्य मात्र भएर बस्न तयार रहेको बताएका छन् ।

शनिबार साँझ भिडियो सन्देश जारी गरी महामन्त्री थापाले यस पटक सभापतिलाई नै पहिलो कदम चाल्न आग्रह गर्ने बताए । उनले पार्टीलाई रुपान्तरण गर्न केन्द्रीय समिति छाड्न तयार हुनुपर्ने बताए ।

यसअघि हामी दुई महामन्त्रीले विभिन मुद्दा उठाएको तर ती मुद्दालाई टुंगोमा पुर्यान नसकेको भन्दै महामन्त्री थापाले यसपटक भने बीचमा नछाड्ने बताए । उनले भने, ‘नयाँ महाधिवेशन गरौं । पार्टी सभापति पनि छाड्न तयार हुनुपर्छ । परेमा अहिलेको केन्द्रीय समितिले छाड्ने हो । सभापति अस्वस्थ भएका बेला यस्तो कुरा किन गरेको भन्नु भएको छ । त्यस्तो होइन, सभापतिको स्वास्थ्यको जानकारी लिइरहेका छौं । तर यस पटक सभापतिलाई नै पहिलो कदम चाल्नु भन्ने हो । मनाउने हो, भन्ने हो तर कोही मानेन भने यो पटक छाड्ने होइन । म साधारण सदस्य मात्र भएर बस्न तयार छु । आज देश दनदन्ती भएर जलिरहेका बेला नेतृत्व गर्न सक्ने पार्टी बनाउनुपर्छ ।’

उनले भदौ २३ गतेको सरकारी दमन र २४ गते विध्वंस मच्चाउने घुसपैठियाहरुमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

उनले भने ‘यिनीहरुमाथि कारबाही भएन भने फेरि यस्ता घटना दोहोरिन्छन् । दोषीलाई जसरी पनि कारबाही हुनुपर्छ ।’
महामन्त्री थापाले विना प्रतिशोध २०४६ पछि सार्वजनिक पदमा बसेका नेता, न्यायाधीश, सांसद मन्त्री सबैमाथि छानबिन हुनुपर्ने बताए । उनले आन्दोलनमा मारिएका युवाको माग सम्बोधन गर्न आफूले योगदान गरेपछि मात्र घाइते र शहीद परिवारलाई भेट्न जाने बताए । उनले भने, ‘केही साथीहरुले तँ घाइते र शहीद परिवारलाई किन भेटन् गइनस् भनेर प्रश्न गर्नुहुन्छ । घाइते र शहीद परिवारलाई भेट्न जान अप्ठ्यारो लाग्छ । भत्केका घर र कार्यालय बन्नेछन् । तर भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढले । उनीहरुको माग पूरा गर्न मेरो तर्फबाट केही गर्न सकें भनेमात्र म भेट्न जान योग्य हुनेछु ।’