काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आफू ‘सेलिब्रेटी’ हुनका लागि नगएको बताएका छन् ।
‘सेलिब्रेट’ हुनका लागि शुक्रबार राष्ट्रपति भवन शीतलन निवासमा आयोजित चियापानमा गएको भन्दै टिप्पणी भएपछि गुरुङले शनिबार भिडियो सन्देश जारी गरी यस्तो स्पष्टीकरण दिएका हुन् । उनले भनेका छन्, ‘सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ । म त्यहाँ सेलिब्रेट गर्न गएको होइन । मलाई सेलिब्रेट गर्नु पनि छैन ।’
उनले यसबारेमा नेताहरुका मिडियाले अफवाह फैलाएको बताए । उनले अब पनि यी नेताहरुको शिर नउठोस् भनेर आफू त्यहाँ गएको बताए । उनले भने, ‘पानी खादिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन । यिनीहरू (नेताहरू) शिर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो ।’
उनले चियापन कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापासँग कुराकानी गरेको जानकारी दिए । उनले महामन्त्री थापासँग यस्ता नेतालाई रोक्न आफूले आग्रह गरेको बताए । उनले भने, ‘मैले गगन दाइलाई नि भेटेँ, गगन दाइलाई भनें– यस्तो तालले भएन दाइ। तपाईंहरू के के गर्ने हो गर्नु। यी बुढाहरू यसरी आउन भएन।’
गुरुङले राष्ट्रपति र संविधान नै नरहँदा देश नै अप्ठ्यारोमा पर्ने भएकाले आफूले त्यो विषयमा अडान नलिएको बताए । उनले आफूमा कुनै लोभ नभएको र आफूले व्यक्तिगतरुपमा केही पनि नमागेको बताए ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिले आयोजना गरेको चियापन कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायत दलका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया