पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ, त्यसलाई सबैले मानेर जानुपर्छः शेखर कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई थप क्षतिबाट जोगाउन निर्वाचन मात्र विकल्प भएको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले संसद विघटन संविधानसम्मत नभए पनि निर्वाचनको विकल्प नभएको बताएका हुन् ।

उनले संसद विघटन असंवैधानिक भएपनि न्यूनतम क्षति गरेर निर्वाचन घोषणा गरिएको बताए । कोइरालाले वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष निर्वाचन गराउनु रहेको र अब देश निर्वाचनको बाटोबाट ट्रयाकमा ल्याउनु पर्ने बताए ।

कोइरालाले संविधानलाई पूर्ण रूपमा छिन्नभिन्न हुनबाट जोगाउन राष्ट्रपति सफल भएको पनि बताए । उनले भने, ‘यो सरकार निर्वाचनको लागि मात्र हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन जरुरी छ । यो सरकारको निम्ति अर्को तेस्रो विकल्प छैन ।’

उनले भ्रष्टाचार, कुशासन जस्ता मुद्दामा जेनजीले उठाएका मागलाई समयमै सम्बोधन गर्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी भएको बताए ।

उनले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताए । पार्टीको कार्यसम्पादन समितिमा महामन्त्रीहरूले विशेष महाधिवेशनको प्रस्ताव राखेको विषयमा डा. कोइरालाले अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने बताए ।

उनले भने, ‘कसले के भन्यो भन्ने होइन, नेपाली कांग्रेसले के भन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । पार्टीको अन्तिम निर्णय केन्द्रीय समितिले गर्छ र त्यसलाई सबैले मानेर जानुपर्छ । म यहीँबाट नेपाली कांग्रेसका सबै कार्यकर्ताहरूलाई आह्वान गर्न चाहन्छु, तपाईंहरू सबै निर्वाचनमा होमिनुहोस् र अगाडि बढ्नुहोस् । कुनै दम्भ नदेखाईकन, नडराईकन अगाडि बढ्नुहोस् ।’