राष्ट्रपति पौडेललाई पदबाट हटाउन भएको कसरत आफूले देखेको प्रचण्डको दाबी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई पदबाट हटाउन भएको कसरत नजिकबाट देखेको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनका क्रममा यी घटनाक्रमलाई नजिकबाट हेर्ने मौका मिलेको जिकिर गरेका हुन् ।

संसद् विघटन मात्रै होइन संविधान खारेज गर्न खोजिएको पनि आफूले नजिकबाट देखेको उनको भनाइ छ । उनले भने, ‘जेनजीको आन्दोलनपछि इतिहासले मलाई यी घटनाक्रमको प्रक्रियामा संयोगले नजिकबाट हेर्ने र सहजीकरण गर्ने अवसर दियो । राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरत मैले नजिकबाट देख्ने र बुझ्ने मौका पाएँ । संसद् विघटन मात्रै होइन संविधान खारेज गर्न खोजिएको पनि मैले नजिकबाट देखेँ ।’

संविधान बचाउन राष्ट्रपति पौडेल, प्रधानसेनापति, दलका नेतासँग आफूले सहजीकरण गरेको उनले दाबी गरे । उनले माओवादी फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताए । बीचमा थुप्रै कमी कमजोरी भए पनि माओवादी केन्द्रले आत्मसमीक्षा गरेको पनि उनले बताए ।