-डा. गोविन्द एस उपाध्याय ।
अन्धविश्वास र अनुभवमा धेरै फरक हुन्छ । अनुभव आफैंको व्यक्तिगत रूपमा वा समाजले ‘देखेर, बुझेर, सिकेर, भोगेर’ निर्माण भएको हुन्छ । विश्वका हरेक समाजको र व्यक्तिको आ–आफ्नै अनुभव हुन्छन् । सबै अनुभव सबैका लागि स्वीकार्य हुन्छन् भन्नु हुँदैन । आवश्यकता, परिवेश र व्यबस्थाहरूले अनुभव ज्ञानको गहनता वा सरलता निर्धारित हुन्छ । मैले कुनै दार्शनिक कुरा गरेको होइन । नेपालीको अनुभव अमेरिकीका लागि अन्धविश्वास हुन सक्छ भने अमेरिकीको अनुभव नेपालीका लागि अन्धविश्वास हुन सक्छ ।
त्यसैले कसैको अनुभव–ज्ञानलाई अन्धविश्वास भन्नेर आलोचना गर्नु वा हास्यको विषय बनाउनु उचित हुँदैन । उदाहरणका लागि नेपालीहरू प्रसिद्ध पशुपतिनाथ, न्यातापोला (साततले) मन्दिर निर्माण गरेका हुन् । यो निर्माणकार्यको मानचित्र बनाउने, निर्माणका सामग्रीहरू तय गर्ने र निर्माण गर्ने मान्छेहरू अक्सफोर्ड विश्वविद्यालय वा पुल्चिोक क्याम्पसबाट इन्जिनियरिङ गरेर नेपाल सरकारको नियमअनुसार लाइसेन्स प्राप्त गरेका व्यक्ति थिएनन् । उनीहरूको अनुभव ज्ञानले नेपाल निर्माण भएको थियो । कृषिका विषयमा पनि यही कुरा लागु हुन्छ ।
विदेशी वा दिदेशी माइण्ड–सेट भएकाहरूलाई ‘अन्धविश्वास’ लाग्ने नेपालका परम्परागत ज्ञान परम्पराहरूका विषयमा पनि ध्यान दिनु पर्ने हुन्छ । उदाहरणका लागि ‘काग कराउने’ कराउने तरिका र ठाउँका अधर्म बुर्जुगहरूले पाहुना आउने वा मान्छे मर्ने भन्ने विषयमा भविष्यवाणी गरेको र त्यसका आधारमा घटनाहरू घटेको म आफैं साक्षी छु । यसैगरी ‘आगो भर्भराउँदा पाहुना आउने’ तथ्य पनि वर्षौंको अनुभवको प्रतिफल हो भने कुकुर वा स्याल रुँदा ‘अनिष्ट’ हुने पनि लामो अनुभवको ज्ञान हो । यी ज्ञानहरूका विषयमा अनुसन्धान भएको÷गरिएको कुनै जानकारी छैन तर एकोहोरो “अन्धविश्वास“ भन्दै विदेशीहरूको नक्कल गरेको सुनिन्छ ।
हालै २३–२४ को आन्दोलनका कारण नेपालले ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नु परेको छ । यो सत्य कसैबाट लुकेको छैन । यसै शिलशिलामामा “दोलखा भीमसेन;लाई पसीना आएको“ तथा कुमारीजात्रामा कुमारी खसेर ‘रोए’को घटनाहरूलाई देशमा निकै ठूलो सङ्कट निम्तिने भन्दै अगुवाहरूले चेतायेका थिए । यो चेतावनी लामोअनुभवजन्य ज्ञानको प्रतिफल थियो । तथाकथित सफेदपोस आधुनिकतावादीहरूले ‘अन्धविश्वास’ भन्दै उडाए । संभवतः समय मै भीमसेन र कुमारीको संदेशलाई डिकोडिंग गर्न सकेको भए जनधनको क्षति जोगिन सक्थ्यो । परम्परागत ज्ञान सम्पदालाई वेवास्ता गर्नु उचित हुँदैन ।
हो, भुइँचालो जानुभन्दा पहिला पनि ‘भीमसेनको पसीना’ बगेको थियो । राजपरिवारको हत्या हुँदा पनि कुमारी र भीमसेन दूवै रोएकी र पसीना आएको घटना विर्सन सकिन्न । स्याल र कुकुर रुंदा होस् वा सामुहिकरुपमा मान्छेहरूले मानसिक रूपमा असजिलो अनुभव गर्दा होस् दुर्घटनाहरू घटेको बुझिन्छ । नेपालीहरूले परम्परागत अनुभवजन्य ज्ञान परम्परातिर ध्यान दिन आवश्यक छ । अन्धविश्वास भन्दै घटना र ज्ञानपरम्पराका विचको सम्बन्ध खोज्नतिर/अनुसन्धानतिर महत्व नदिनु अनुचित हो । बरू, यस विषयमा विज्ञानसम्मत अनुसन्धानको आवश्यकता छ । विर्सनु हुँदैन कि हाम्रा पुर्खा र हामीले समेत कृषिकर्म गर्दा परम्परागत अनुभवजन्य ज्ञानकै उपयोग गरिरहेका छौँ । मेरी आमाले धान रोप्ने, मकै छर्ने, कोदोको वीउ राख्ने, पशुपालन गर्ने ज्ञान अक्सफोर्ड विश्वविद्यालयबाट डिग्री लिएर गर्नुभएको छैन ।
अन्धविश्वास र अनुभव ज्ञानमा फरक यत्ति हुन्छ कि अनुभवजन्य ज्ञान प्रमाणित गर्न सकिन्छ भने अन्धविश्वास पुनः प्रमाणित हुँदैन । तर प्रमाणीकरण भने आफ्नै परिवेशमा गरिनु पर्छ । अनुभवजन्य ज्ञान सबैको लागि र सबै ठाउँमा प्रमाणित नहुन सक्छ । उदाहरणको लागि मेरी आमाको धानको बीउ छर्ने ज्ञान, रोप्ने ज्ञान, धानकाट्ने ज्ञान राजस्थानको मरूभूमिमा काम लाग्दैन । अमेरिकी वा बेलायती संस्कृतिमा कुमारीको रुवाई वा भीमसेनको पसीनाको अनुभव अर्थहीन र महत्वहीन हुनु स्वाभाविक हो तर नेपाली समाजको अनुभवले पसीना र रुवाईले मार्गदर्शन गर्न सक्छ । तेसैले आफ्ना प्राचीन अनुभवजन्य ज्ञानपरम्परामा आधारित भविष्यवाणीहरूलाई निरर्थक र महत्वहीन ठान्नु हुँदैन । बरू, अनुसन्धान गर्नेतिर लाग्नुपर्छ ।

प्रतिक्रिया