काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई मित्र राष्ट्रको रूपमा सम्मान व्यक्त गरेका छन् । शनिबार मणिपुरबाट सम्बोधन गर्दै मोदीले हिमालयको काखमा रहेको नेपाल भारतको नजिकको साथी भएको उल्लेख गर्दै साझा इतिहास र आस्थाले दुवै देशलाई जोडेको बताएका हुन् ।
मोदीले नेपालमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई १४० करोड भारतवासीहरूको तर्फबाट बधाई दिएका छन् । उनले कार्कीले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
साथै, नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको आगमन महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण भएको बताएका छन् ।
प्रधानमन्त्री मोदीले अस्थिर परिस्थितिमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राख्ने नेपालका जनतालाई प्रशंसा गरेका छन् । साथै, पछिल्ला दिनमा नेपालका युवायुवतीहरूले सडक सफाइ र रंगरोगनमा देखाएको सक्रियता सामाजिक सञ्जालमा देखिएको भन्दै त्यसलाई सकारात्मक सोच र नयाँ नेपालको संकेतका रूपमा व्याख्या गरेका छन् । मोदीले नेपाललाई उज्ज्वल भविष्यका लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया