२०७२ को संविधानले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र निरपराध उपायः पूर्वराष्ट्रपति यादव


काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन सम्भव रहेको प्रस्ट पारेका छन् ।

शुक्रबार वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यादवले भदौ २३ गते सोमबार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर–किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरेका छन् ।

यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको उनले जनाएका छन् । वक्तव्यमा पूर्वराष्ट्रपति यादवले भनेका छन्, ‘सर्वप्रथम म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ–बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।’